Tuesday, 6 September 2011

सालाहरुको गोलीमा डराइमर्नु जिन्दगी


  1. सालाहरुको गोलीमा डराइमर्नु जिन्दगी
       सुन्दर सपनाहरु बोकेर बिदेशिनु सोचेजस्तो कहाँ सबल हुन्छ र ? धन कमाउंला, जस्ताको छानो छाउंला, साहुहरुको ॠण तिरौंला, केही बचेका सुकीहरु लागेर परिवारसंगै बाँकी जिन्दगी मानो पाथिमा बिताउंला भन्ने सपना पनि सबैका कहाँ सफल हुंदा रहेछन् र ? सबल सपना सफल हुनु सजिलो रहेनछ । दशैंमा टीका लगाउन तयार निधार ॠणको पोको बोकेर धनको धोकोमा हिड्नु शायदै सहज होला । हाम्रा पसिना चुसेर पनि नपुगेर राष्ट्रको ढुकुटी लुट्ने भ्रष्टचारीहरु, दिनभरी भारी बोकेर खाने कांधमा गोली ठोक्ने लठैतहरु, संबिधान बनाउने नाममा घरको छाक बचाएर संसद भवनमा लन्च र डिनर खान पल्केका बकम्फुसेहरुको जगजगीले अबसर गुमेपछि परदेश भासिएका लाखौं नेपाली युबक र चेलीहरुका सपना कहाँ साकार भएका छन र ? उपायनास्ती जिन्दगीलाई दुई पैसा कमाउने प्रलोभनले जब अरबको मरुभुमी पुर्याउंछ, ती नेपालाई चेली त्यहि बलात्कृत र हत्या भएका कयौं घटनाहरु ताजै छन्, हाम्रा सामु । धेरै कमाउने अशामा जायज्याथा बेचेर किनिएको हवाइ टिकेटको म्याद नसकिदैं कामको सट्टा जेलमा चिसिनुपर्ने बाध्यताहरु पनि हाम्रै दाजुभाइहरुले भोगेकै कुरा हो ।
गत बर्ष अमेरिकाको बोस्टनमा एउटा सन्कीले हाम्रा दाजुको हत्या गर्‍यो । अमेरिकाको टेक्सास पनि यस्ता हत्या बढी नै हुने स्थानमा गनिन्छ । बाल्टिमोरमा कन्चटमा पेस्तोल नतेर्स्याइएका कमै नेपाली होलान् । अबसरको खोजिमा यसरी परदेशिंदा आफ्नो कर्तब्य निर्बाहको क्रममा सित्तैमा यहाँका ’साला’ अपराधीहरुको गोलिमा जिन्दगी जाने डराइमर्दो अवस्था छ । र हिजो, झापाका हाम्रा भाइ रोशन भण्डारीको हत्या भएको छ ।
दर्दनाक यस्ता घटनाका पछाडि धेरै खेलहरु छन्, त्यो भन्दा बढी संसारमा आफूलाई सर्बेसर्बा ठान्ने कथित अमेरिकी कानुनको । आफूले काम गर्ने ठाउंमा कसैले डकैत (Robbery) गर्‍यो । आफ्नै आंखा अगाडि घटेका घटनाको बेलिबिस्तार स्थानिय प्रशासनलाई जानकारी गराउनै पर्ने । प्रशासनले चोर् देखेको थिइस् भन्छ, सांचो बोलुं – चोरको अगाडि अदालतमा साक्षी बस्न जानु पर्ने । नभनुं, साहुले चोरीले आफूलाई घाटा लागेको बहानामा जागिरबाट लात मारिदिने । जाबो सात डलरको लोभमा काम गर्नुपर्ने हाम्रो मजदुरी जिन्दगी, त्यो पनि सालाहरुको पेस्तोलको गोलीको डरमा । कर्तब्यवान रोशनले चोरको अगाडि प्रस्तुत हुन अदालत जानुपर्ने भो । साला अपराधीहरुले उनलाई अदालत जना लगेकै बखत रोशनले काम गर्ने स्टोरकै अगाडि उनकै कारभित्र गोली ठोके, उनी त्यहिं मरे । कानुनी राजको बखान गरि नथाक्ने अमेरिकी आडम्बरी नियम्, चोरको अगाडि ’हो, त्यहि हो अपराधि’ भन्न जानु पर्ने । साहु हामीले जाबो पानी मिसाएको कोक पियौं कि भनेर घरमा बसेर भिडियो हेर्छ, हामी भने साहुको दोकानमा पानी मिसाएको कोक पनि खेर नजाओस भनेर ट्र्यासमा फ्यांकिएका कपहरु पनि धोइ पखाली राखिदिन्छौं । कसैले मात्रा भन्दा बढी पिएमा ’रिफिल चार्ज’ भन्दै ९९ सेन्टस चार्ज लगाउछौं, झगडा गर्छौं, बिएर चोरेर भाग्न लागे भने आफ्नो अगाडि भएको स्टापलरले चोरको टाउकोमा हान्छौं । इमन्दारिताको त्यो प्रयास कहाँ लागु हुन्छ र ? कहाँ अमेरिकी जिससले देख्छन र ? बदालामा साला अपराधीहरुको गोली हामि नै खान्छौं । लस एन्जलसमा हिजो अपराधीहरुले ’साक्षि’ बिचरा भाइ रोशनको जिन्दगी नै उडाइदिए, २ घन्टा पछि पुलिस आयो रे, अपराधी भग्यो । साहुले के गुमायो त ? मुला सात डलरे हाम्रो जिन्दगी त्यसै जान्छ । बेरोजगारीले डकैती बढेको छ, अमेरिकाको कुनै पनि कुनामा । फेरि जहाँ कुनो, त्यहि ७-११ भने स्टोर । डकैतहरु त लुट्न कुनो खोइज्दै न आंउछन्, त्यहि कुनामा हामीहरु काम गरिराखेका हुन्छम्, अनाहकमा आफ्नै दुनो मासिरहेका हुन्छौं, त्यहां सिंगो अमेरिका हुन्छ, जहां अपराधीहरु धेरै हुन्छन् ।
त्यो सुन्दर जन्मभुमिमा बत्ति बल्दैन । यहाँ बत्ति बलिराखेकै बेलामा हामीलाई गोली ठोक्छन । चोर नेताहरुका सन्तान पजेरोमा सवार हुदैं भारतिय बोर्डिङ पढ्छन्, यहाँ हामि घन्टाको सात डलरमा काम गरेर, कलेजको शुल्क तिरेर बचेँको पैसाले एउटा खटारो किन्छम । राष्ट्रको ढुकुटी डकैत गर्नेका सन्तानहरु सुरा र सुन्दरीको साथमा तिनका बाउका शेयर भएको क्यासिनोमा च्याखे थाप्छन्, यहाँ हामी थोत्रो फ्रिजरमा राखेको बासी पिज्जा टोक्दै साहुलाई अझै साहु बनाउन छातीमा गोली थाप्छम । जाँडले लठ्ठ भ्रष्टचारीका सन्तान लिन क्यासिनो र नाङ्गा बारमा गार्ड सहित पजेराहरु पुग्छन्, ती अर्धम्रित जाडका पोकाहरु उठाउन । यहाँ हाम्रो लाश उठाउने कोहि हुदैन । बियोग र बेदनामा बित्दो रहेछ, परदेशको जिन्दगी । कसलाई भनेर के नै पो मिल्दो रहेछ र ?
     रामेश्वर खनाल जस्ता कर्मठ कर्मचारी अट्दैनन्, देशको काममा । कुलेखानी सुक्यो, मर्स्यांदी बग्दैन । कालिगन्डकी कहिले बनेर देशले बिजुली पाउने ? भारतबाट ’दो रुपये’ लिएर नेपाल छिरेकाहरुको भलाइका लागि झलनाथ खनाल र भरतमोहनहरुको लालमोहर लाग्छ । १० औं खर्ब रुपैया कर छल्ने चौधरी र गोल्छाहरुको पन्जामा अडेको छ, मुलुक । राष्ट्र बनाउन खलाती खियाउने गोल्छेहरुको आरान बन्द, आवाज बन्द र आवास बन्द । ससुरालीको आडमा अबैध धन्दा गर्ने रुबेल चौधरीहरुको पेवा रहेछ, नेपाल । मामाघरमा मजाले फलेको मेवा रहेछ, नेपाल बिनोद चौधरीहरुको । यी देश् लुटुवाहरुलाई दिने पैसा नेपाल आमाले अरबको खाडिमा पसिना चुहाउने ज्यानहरुलाई दिएको भए, कति कुखुराहरु पालिन्थे होला ? काउली कति फल्दाहुन्, खोरियाहरुमा ? कोरियाहरुमा सपना सजाउन पासपोर्ट लिना पररास्ट्र मन्त्रालयमा तीन दिनदेखी लाइन लागेका ’शक्ति’लाई सक्छन भने झलनाथले लाइनमै कम्तिमा १० हजार रुपैया ॠण हातमा राखिदिने शाहस गरुन् । अनी हेरौं, कहाँ के फल्दोरहेछ ? त्यसो त, हाम्रो त न पेवा न मेवा ! आमाले पेवामा पाल्नुभाको रतौली बाख्रा र मामघरका हजुरबुवाले दिनुभाको खोरिया बेचेर परदेश आइयो । काम नगरौ, के खाने ? ॠणको त कुरै छाडौं, गरौं, सालाहरुको पेस्तोलको डराइमर्दो जिन्दगी ।
रोशन भण्डारीको आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धान्जली तिमीलाई !!!

No comments:

Post a Comment